काठमाडौं, १८ पुस । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी अशोक सिंहको आगमनपछि काठमाडौंको शान्ति सुरक्षा व्यवस्था सुदृढ बनेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गत मंसिरको पहिलो साता गरेको थियो । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह आएका थिए । सिंहले जिम्मेवारी सम्हालेलगत्तै अपराधिक क्रियाकलापमा संलग्नहरुको भागाभाग भएको थियो । कतिपय गुण्डाहरु भने पक्राउ परेका छन् । प्रहरीको ‘मोष्ट-वान्टेड’ सूचिमा रहेका गुण्डाहरु धमाधम पक्राउ परेपछि सिंहले सुरुवातमै जनताको मन जितेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा विभिन्न माग राखी ठूला–ठूला आन्दोलन र संघर्षका कार्यक्रमहरु भैरहेका छन् । यस्तो अवस्थामा पनि उनले शान्ति सु–व्यवस्थामा कुनै कमि र आँच आउन दिएका छैनन् । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी विश्वराज पोखरेलसँगको सहकार्यमा उनले काठमाडौंको अपराधिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा अब्बल बनाएका छन् । सिंहले वाहवाहीमात्रै कमाएका छैनन्, उनको कामको अहिले चौतर्फी प्रशंसा भएको छ ।
गत मंसिर १७ गते सत्तारुढ नेकपाले धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्रीनिवास बालुवाटार सारिएको थियो । तर, त्यतिबेला काठमाडौं प्रहरी प्रमुख सिंहले भने धुम्बाराही मात्रै नभएर सिंगो काठमाडौं नै पूर्ण सुरक्षित रहेको दाबी गरेका थिए । उनले भनेका थिए,‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन । तर, नेकपाको पार्टी कार्यालयमा कुनै सुरक्षा जोखिम छैन, सुरक्षा दिन हामी सक्षम छौँ । धुम्बाराही मात्र होइन, सिंगो काठमाडौं सुरक्षित छ ।’ प्रहरी संगठनमा सिंहको छवि स्वच्छ छ । आफूले सम्हालेको र पाएको जिम्मेवारी ईमानदारितापूर्वक सम्पन्न गर्ने उनको विशेषता रहेको छ । त्यही भएर उनले काठमाडौंजस्तो सुरक्षा संवेदनशील ठाउँमा नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । उनी आफ्नो जिम्मेवारीमा खरो उत्रिएका छन् । File Photo