Logo

आरती स्ट्रीपको गेटअगाडि निष्कासित मजदुरको धर्ना



विराटनगर, पुस १९ । कर्कट पाता र फलामे डन्डी उत्पादन गरी निर्यात गर्दै आएको मल्टिनेसनल कम्पनी आरती स्ट्रीपको गेटमा निष्कासित मजदुरहरूले पुनर्वहाली माग गर्दै शनिबार तीन घन्टा धर्ना दिएका छन् ।

पुस १० गते शुक्रबार र शनिबार काममा गएका १ सय ८४ जना मजदुरलाई उद्योग प्रशासनले काम गर्न नआउनू भनेर गेटबाटै फर्काइदिएपछि उनीहरू आन्दोलित भएका हुन् ।

उद्योग प्रशासनले बिनाजानकारी निष्कासन गरेकाले श्रम ऐनअन्तर्गत पुनर्वहालीको माग गर्दै मजदुरले श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् । उजुरीपछि श्रम कार्यालयले उद्योगविरुद्ध कारबाहीसमेत अगाडि बढाएको छ ।

श्रम कार्यालय विराटनगरले मजदुरलाई तत्काल पुनर्वहाली गर्न निर्देशन दिँदा पनि उद्योग प्रशासनले अटेर गरेपछि श्रम कार्यालयले आरती स्ट्रीपका नेपालभरिका सबै बैंकका खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ ।

श्रम ऐनविपरीत ऐन आरतीले १ सय ८४ जना मजदुरलाई बिनाकारण निष्काशन गरेको र त्यसको पुनर्वहालीका लागि श्रम कार्यालयले दिएको निर्देशन नमानेपछि श्रम ऐन, २०७४ को दफा १६७ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको श्रम कार्यालयले जनाएको छ ।

मजदुरको उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउँदै वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आरती स्ट्रीपलाई पत्र लेखेका थिए । उनले पुस १४ गते बेलुका ४ बजेभित्र निकालिएका सम्पूर्ण मजदुरलाई पुनर्वहाली गरी पुस १५ गते श्रम कार्यालयलाई लिखित जानकारी दिन आदेश दिएका थिए ।

तर, उनको आदेशलाई उद्योग प्रशासनले बेवास्ता गर्दै श्रम अदालत जाने धम्कीपूर्ण पत्र पठाएको थियो ।

श्रम कार्यालयको आदेश कार्यान्वयन गर्नुको साटो श्रम अदालत जाने प्रशासन प्रमुख दिवस नेपालको पत्र पाएपछि श्रम कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्