Logo

कठ्याङ्ग्रिँदो जाडोमा कमसल कपडाको भर



काठमाडौँ, पुस १९ गते । नेपालको उच्च हिमाली जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न पाउँदैनन् ।

कतिपय घरमा कुरुवा र वृद्धवृद्धा बसेका छन् भने केही सरकारी र गैरसरकारी सङ्घ, संस्थाका कार्यालय पनि रहेकाले प्रहरीलाई अन्य सर्वसाधारणसँगै औलतिर सर्न समस्या छ । डोल्पा जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले बस्ती बसाइँ सरे पनि शान्तिसुरक्षाको दृष्टिकोणले केही प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई सार्न नसकिएको बताए ।

‘‘हिँउको चिसो थेग्न सक्ने सुरक्षित कार्यालय भएका स्थानमा सुरक्षाकर्मी यथावत् अवस्थामा राखिएको छ, उनीहरूका लागि रासनसँगै ‘जेनतेन’ न्यानो लुगा–कपडाको व्यवस्थापन गरिएको छ,’’ डीएसपी पाण्डेले भने । प्रहरी प्रधान कार्यालयबाट यस पटक समयमा नै थप सहयोग आएकाले ‘जेनतेन’ व्यवस्थापन गरिएको डीएसपी पाण्डेको भनाई छ ।

दार्चुला, बझाङ, बाजुरा, हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, गोरखा, सोलुखुम्बु र सङ्खुवासभा लगायतका जिल्लाको उच्च हिमाली क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि प्रहरी प्रधान कार्यालयले न्यानो ज्याकेट, पञ्जा, टोपी र बुट समयमा नै पठाएको दाबी गरेको छ तर यी पोसाक हिउँ र चिसोबाट जोगिन उपयुक्त र पर्याप्त नभएको गुनासो सम्बद्ध सुरक्षाकर्मीको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्