Logo

पाथीभरा क्षेत्रमा डढेलोः जर्किनमा पानी बोकेर निभाउने प्रयास



ताप्लेजुङ, पुस १९ । पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण गर्न जर्किनमा पानी बोक्ने र अग्नि रेखा बनाउने सहितका सबै बैकल्पिक अभियान चलाइने भएको छ।

जंगलको भित्रि भागसम्म आगो कायमै रहेको र तर तत्काल जोखिमको अवस्था कम भएको मध्यनजर गर्दै यस्तो अभियान सञ्चालनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिए। ‘जोखिम त हटेको छ तर आयो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन’प्रजिअ चापागाँइले भने। उनले आगो जंगलको भित्रि भागसम्म पत्रैपत्र बनेर सुक्ष्म रुपमा कायमै रहेकोले सुरक्षा जनशक्तिमार्फत जर्किनमा पानी बोक्ने अभियान चलाउन तयारी भइरहेको बताए।

नजिकको पानीका स्रोतमार्फत जर्किन–जर्किनमा पानी बोकेर आगोको धुँवा आइरहेको क्षेत्रमा पानी खन्याएर आगो पूरै नियन्त्रणमा लिने प्रयास सम्भव होला की भन्ने सुरक्षा स्रोतको बुझाइ रहेको उनले जानकारी दिए। दन्किने प्रकृतिको आगो नियन्त्रणमा आएको तर जंगलमा अझै आगोका अवशेष नियन्त्रणमा नआएकोले थप जोखिम हुन नदिन पूरै सुरक्षा जनशक्ति केन्द्रित भइरहेको उनले जानकारी दिए।

पाथीभरा क्षेत्रका कर्मचारी र स्थानीय संगको सहयोग तथा समन्वयमा सुरक्षा टोली जंगलमा सुक्ष्म रुपमा रहेको आगो नियन्त्रणका लागि प्रयास जारी राखेको उनले जानकारी दिए। आगो नियन्त्रणमा लिन पानीको प्रयोगदेखि अन्य सबै बैकल्पिक उपाय उपयोग गर्ने सुरक्षाटोलीको तयारी रहेको उनले सुनाए। पाथीभरा क्षेत्रको जंगलमा लागेको लागेको डढेलोबाट थप जोखिम हुन नदिन यसअघि हेलिकोप्टरमार्फत बकेटमा पानी ल्याइ आगलागी भइरहेको क्षेत्रमा खन्याउने प्रयास पनि गरिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्