Logo

खिया लागेका नट र बोल्टु खुस्किएः ओली



काठमाडौं, पुस १९ । राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आ–आफ्नो प्रतिरक्षाका लागि सभा, भेला, आन्दोलनका कार्यक्रमसहित कार्यकर्ता र जनतामाझ जाने कार्यक्रम तय गरेका छन् । दुवै समूहले आफ्नो पक्षमा नेता, कार्यकर्ता र जनता आकर्षित गर्न यस्ता कार्यक्रम तय गरेका हुन् । केपी ओली समूहले देशव्यापी कार्यकर्ता भेला तय गरेको छ । यस्ता भेलामा ओली समूहले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई गालीगलौज गरिरहेको छ । त्यस्तै दाहाल–नेपाल समूहले पनि ओली र उनी नेतृत्वको सरकारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

ओली समूहले शनिबार काठमाडौंको प्रज्ञा भवनमा काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेला गरिरहेको बेला दाहाल–नेपाल समूह आन्दोलनका कार्यक्रम घोषणा गर्दै थियो । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले आफूविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिरहेको दाहाल–नेपाल समूहलाई कटाक्ष गरे । उनले दाहाल–नेपाल समूहलाई लक्षित व्यंग्य गर्दै भने, ‘सुन्तला खाने इच्छा भएकाहरू सुन्तलाघारीतिर जानुपर्नेमा सल्लाघारीतिर गएका छन् ।’ ओलीले दाहाल–नेपाल समूहलाई निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन चुनौती दिँदै निर्वाचनपछि कसको बहुमत आउने रहेछ हेरौंलासमेत भन्न भ्याए । ‘प्रत्यक्षमा हाम्रो १ सय ६५ सिट आउँछ । र्ले यति नै भनौं, उहाँहरूले कमसे कम दुइटा अंक भएको सिट ल्याएर देखाउँदा हुन्छ,’ ओली भने ।

उनले केन्द्रीय कमिटी बैठकबाट हराएका केही साथीले आफूलाई पार्टीबाट निकालेको प्रसंग कोट्याउँदै उहाँहरू कही नपुग्ने बरु पछि पुरानै घरमा फर्कने बताए । ‘उहाँहरू कतै पुग्नुहुन्न, पछि फर्किनुहुन्छ, फर्किने हो भने पनि ठाउँ राखेका छौं, अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन, थान्कोमा बस्नुपर्छ, पार्टीको कार्यकर्ताजस्तै बस्नुपर्छ,’ ओलीले भने, ‘गुटबन्दी गर्न पाइँदैन, हामीले गुटबन्दीलाई बिदा गर्‍यौं, व्यक्तिलाई फर्किन दिए पनि गुटबन्दी फर्किन दिइनेछैन ।’

ओलीले आगामी चुनावमा आफूहरूकै बहुमत आउने दाबी गरे । ‘वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौंला,’ उनले भने । उनले दाहाल–नेपाल समूहको नारा र कृत्य देख्नेहरूलाई लाज लागेको बताए । उनले भने, ‘गोरु नांगो देख्दा मलाई लाज लाग्दैन ।’ ओलीले दाहाल–नेपालप्रति लक्षित गर्दै ‘भेट्नु कुहिएका दुईवटा फल झरेको र कुहिएको फलले रूख नै कुहियो भनेर भन्न सुहाउने कुरा नभएको तथा त्यो पत्याउन पनि नसकिने’ बताए ।

ओलीले खिया लागेका दुईवटा नट र बोल्टु फुक्लिनासाथ पार्टी गतिशील बनेको बताए । उनले खिया लागेका नट र बोल्टु आफूले नखुस्काएको आफैं खुस्केर गएको पनि बताए । उनले असली नेकपा आफैंसँग भएको दाबी गर्दै असली र नक्कली छुट्याउने बरमझियाको पेडा पसल हो र भन्ने प्रश्नसमेत गरे । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्