काठमाडौं, १९ पौष । कोइराला परिवारका सदस्य निरञ्जन कोइरालाको निधन भएको छ । उनको आज विहान कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।
नयाँ दिल्लीस्थित अस्पतालमा आइसियूमा उपचारका क्रममा कोइरालाको निधन भएको हो । निरञ्जन लामो समययता दिल्लीमा बस्दै आएका थिए ।
केशवप्रसाद कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन पर्यटन क्षेत्रमा सक्रिय थिए । उनका भाई डा. शेखर कोइराला नेपाली काँग्रेसका केन्द्रीय सदस्य छन् । उनकी आमा स्वर्गीय नोना कोइराला पनि काँग्रेसको राजनीतिमा आमरण सक्रिय रहिन् ।
निरञ्जनका दुई छोरा हिंमाशु र भाष्कर कोइराला छन । हिंमाशु नयाँ दिल्लीमै व्यवसायमा सक्रिय छन् । भाष्कर नेपालमा बसेर नेपाल, भारत र चीनको त्रिदेशीय सामरिक विषयको संस्था चलाएर बसेका छन् ।
निरञ्जनकी पहिलो पत्नी सन्तोष कोइरालाको दुई दशक अघि विमान दुर्घटनामा निधन भएको थियो । त्यसपछि उनले भारतीय प्रतिष्ठित डाल्मिया परिवारकी इला डाल्मियासँग विवाह गरेका थिए । इलाको पनि विवाहको केही वर्षपछि नै निधन भएको थियो ।