वुटवल,पुस १९ । नेकपा प्रचण्ड–नेपाल समुहका नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले संसद पुनस्थापना गरेर देश र संविधान बचाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपि ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ । ‘२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलिले २०७७ पुस ५ गते संविधानमाथि कु गरे, तानाशाहि असंबैधानिक तथा अलोकतान्त्रिक काम गर्ने मान्छेलाइ अब राख्नु हुदैन,’ उनले भने ।
युवा संघ नेपाल र अनेरास्ववियुद्वारा आज रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्न दिईएन भन्दै प्रधानमन्त्री हिडेको भन्दै गलत काम गर्नेहरु अहिले एक ठाँउमा उभिएको बताए । ‘सबैलोभी पापीहरु पदको लोभमा कोही मन्त्रीमण्डलमा गएका छन्, कोही केन्द्रिय सदस्यमा गए, कोही मन्त्री बन्दैछन् रे, यो खुसी हुने बेला होइन,’ उनले सुनाए ।
उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टि र संविधानलाई ध्वस्त भएको बताए । अब प्रतिनिधिसभा पुनस्थापना नहुदासम्म सडक सघर्ष तताउने र आफूंहरु पार्टीको निर्देशन अनुसार आन्दोलन चर्काउने बताए । गुरूङले ओली पक्षका नेता बुटवलबाट चुनाव जितेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई अब रुपन्देहीमा आएर आफूसंग चुनाव लडेर जित्न चुनौती दिएका छन् ।
पौडेलले बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफूले प्रतिस्पर्धा गर्ने र जितेर देखाइदिने चेतावनी दिए । ‘हिजो कस्लाइ कस्ले र कसरी चुनाव जितायो सबैलाइ थाहा छ, हामी चुनावमा जान डराएका छैनौँ, हामीलाई चुनावमा जान डराए भन्ने ?’ महासचिव बिष्णु पौडेललाइ इंगित गर्दै उनले भने, ‘आउनुस् म संग चुनाव लडेर देखाउनुस्, हिम्मत छ ।’
युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्ध सडमा आएको बताईन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताईन ।
‘के को लागि हो चुनाव,यो चुनावको सुनिश्चितता के छ’ उनले प्रश्न गरिन, ‘आन्तरिक विवादका कारण संविधानको घाँटी निमोठ्न पाईदैन, हाम्रो भविष्यमाथि खेल्ने अधिकार कसैलाई छैन,चुनाव अब भोट माग्ने नैतिकता छैन ।’ उनले संसद पुनस्थापना नै अवको विकल्प भएको बताईन ।