Logo

नेकपाको प्रचण्ड-माधव समूहले महासचिव अझै छानेन, विष्णु पौडेल अझै महासचिव !



काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई केपी शर्मा ओली र प्रचण्ड-माधव समूह बनेको छ । ओलीले प्रवक्ताबाहेकका पदाधिकारी सबैलाई यथावत राखेका छन् । प्रचण्ड माधव समूहले पनि अध्यक्ष प्रचण्डलाई हटाउनेबाहेक अन्यलाई यथावत राखेका छन् ।

विभाजित भएपछि प्रचण्ड समूहले माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाएको छ । तर, महासचिव भने अझै चयन गरेको छैन । प्रचण्ड समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी गरेको थियो । तर, भीम रावल र जर्नादन शर्मा पनि आकांक्षी देखिएपछि रोकिएको छ ।

पाण्डे झलनाथ खनाल निकट मानिन्छन् । प्रचण्ड समूहका जर्नादन शर्मा र माधव नेपाल समूहका भीम रावललाई मनाउन तीनैजना शिर्ष नेतालाई मुश्किल परेको छ । खनालले तेस्रो वरियतामा बस्न स्वीकार गरेकाले पाण्डेको पक्षमा लबिङ गर्दै आएका छन् ।

महासचिवको चयन रोक्नुलाई भने अर्थपूर्ण मानिएको छ । दुवै पक्षले विष्णु पौडेललाई अस्वीकार नगरिसकेको अवस्था छ । पौडेल ओली पक्षमा खुलेर लागेका छन् । तर, आधिकारिक रुपमा दुवै समूहको महासचिव छन् ।

वामदेव गौतमले ओली र प्रचण्ड दुवै समूहले उपाध्यक्ष मानेकै छन् । गौतम अहिले कुनैपनि पक्षमा लागेका छैनन् । तटस्थ भूमिका निभाएर पार्टी एकता अभियान चलाउने तयारीमा छन् । पौडेल पनि मध्यमार्गी लाइनका हुन् । उनी प्रचण्ड र माधव नेपालसँग पनि सम्पर्कमै भएको बुझिएको छ । पार्टीलाई पुनः एक बनाउन उनी पहल गर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्