Logo

नेकपामा मन्त्री बन्न र पद जोगाउन गुट परिवर्तन



काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीमा केन्द्र र प्रदेश दुवैमा एकथरी नेताहरु मन्त्री पद त्यागेर संस्थापन पक्षविरुद्ध संघर्षमा उत्रिएका छन् । अर्काथरी भने मन्त्री पद जोगाउन र मन्त्री पाउन गुट परिवर्तन गरिरहेका छन् ।

कर्णाली प्रदेशमा दुईमन्त्रीसहित तीनजना ओली समूह त्यागेर प्रचण्ड समूहमा प्रवेश गरेका छन् । प्रचण्ड समूहबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्दा ओली समूहबाट दल रावल र नन्दसिंह बुढा मन्त्री बनेका थिए । तर, दुवैजनाले गुट परिवर्तन गरी पद जोगाएका छन् । ३३ सांसद नेकपाको रहेको कर्णालीमा अब २२ जना प्रचण्ड समूहको रहेका छन् । ओली समूहमा ११ जना मात्र छन् ।

बागमती प्रदेशमा मन्त्री शालिकराम जमरकट्टेलले मन्त्री पद त्यागेर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेश १ मा पनि मन्त्री इन्द्रबहादुर आम्बोले पद छाडेर अविश्वासको प्रस्तावमा होमिए । उक्त प्रदेशमा मन्त्री जीवन घिमिरेका अलावा राज्यमन्त्रीहरु जसमाया गजमेर र विजयकुमार विश्वास समेतले राजीनामा दिएका थिए ।

 

संघीय सरकारमा पाँचजना नयाँ मन्त्री बनेका पूर्व माओवादी नेताहरुले गुट परिवर्तन गरेका हुन् । टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभु साह, गंगालाल चौधरी र दावा लामाले प्रचण्डसँग लामो राजनीतिक सहकार्य तोडेका छन् । जनयुद्ध समेतमा माओवादीमा रहेका पाँचैजनाले गुट परिवर्तन गरेवापत् पुरस्कार स्वरुप मन्त्री पाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले पनि प्रचण्ड समूहबाट मन्त्री बन्ने मौका पाएका थिए । आपूर्तिमन्त्री लेखराज भट्ट पनि प्रचण्डकै तर्फबाट मन्त्री बनेका थिए । दुवैले गुट परिवर्तन गरेर मन्त्री पद जोगाएका छन् । योगेश भट्टराई र घनश्याम भुषाल मात्र पूर्व एमालेबाट मन्त्रीबाट राजीनामा दिनेमा परेका छन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगर पूर्व माओवादीबाट मन्त्री त्याग गर्नेमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्