Logo

राष्ट्रिय सभा अधिवेशन ६ दिनमै अन्त्य गरिँदै



काठमाडौं, पुस २० । राष्ट्रिय सभा अधिवेशन सुरु भएको ६ दिनभित्रै अन्त्य गर्ने तयारी गरिएको छ। प्रतनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल भएसँगै सरकारले पुस २३ गते नै अधिवेशन अन्त्य गर्ने तयारी गरको छ।

राष्ट्रियसभाको सातौं ९हिउँदे० अधिवेशन पुस १७ गतेबाट सुरु भएको थियो। अर्को बैठक २३ गते बोलाइएको छ। तर, अधिवेशन सुरु भएको ६ दिन नबित्दै २३ गते नै अधिवेशन अन्त्य गर्ने तयारी भएको नेकपाको विश्वासनीय स्रोतले बताएको छ।

स्रोतका अनुसार आगामी पुस २३ गतेका दिन नेताहरूलाई आफ्ना भनाई राख्न दिने र संसदले प्रक्रिया पु¥याउनुपर्ने अन्य केही काम सकेपछि अधिवेशन अन्त्य हुनेछ। यो अधिवेशनलाई सरकारले २३ गते भन्दा उता लैजान खोजेकै छैन, यद्यपि, यसबारे अन्तिम निर्णय हुन बाँकी नै रहेको स्रोतले भन्यो।

राष्ट्रिय सभाको बैठकमा दुई खेमामा विभाजित नेकपाकै सांसदलाई जुहारी गराएर बैठक सञ्चालन गर्नुको अर्थ पनि नहुने भएका कारण यसलाई अब जतिसक्दो छिटो अन्त्य गरिदिने मनस्थितिमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ।

नेकपाको विभाजनको मुखमा ५९ सदस्यीय राष्ट्रिय सभामा पुष्पकमल दाहाल र माधव नेपाल खेमामा २४ सांसद र ओली खेमामा २३ सांसद देखिएका छन्।

वामदेव गौतम तटस्थ छन्। कांग्रेस पार्टीका ६ जना सदस्य र जनता समाजवादी पार्टीका ३ जना भएकाले पनि नेकपा कै विभाजित खेमाबीचको द्वन्द्वले संसद्मा हंगामा हुने खतरा देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्