Logo

प्रचण्डले माधव नेपालको ‘ढाँडमा टेकेर ओलीको टाउकोमा हान्न’ खोजेका हुन् ?



काठमाडौं, २० पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति यसपटक असफल भएको टिप्पणी गरेका छन् । पोखरेलले प्रचण्डले माधव नेपालको ढाँड टेकेर प्रचण्डले ओलीको टाउकोमा हान्न खोज्दा असफल पारिदिएको समेत तर्क गरे ।

प्रचण्डले माधवकुमार नेपालसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन खोजेको खुलिसकेको छ । उनले अविश्वासको प्रस्तावको पूर्व तयारी समेत गरेका थिए । तर, ओलीले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गर्नुपूर्व नै मन्त्रिपरिषद्को बैठक डाकेर बिघटनको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ लगे । जसलाई उनले सदर गरिन् ।

संसद बिघटन नगरेको भए ओली पार्टी संसदीय दलमा नै अल्पमतमा पर्थे । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा ९० भन्दा बढी सांसदको हस्ताक्षर छ । जुन नेकपाको कुल सांसद संख्याको बहुमत थियो ।

प्रचण्डमाथि ओली पक्षले पूर्व एमाले फुटाएको, जनताको बहुदलीय जनवादको नीतिलाई कमजोर पार्न खोजेको, नेकपा कब्जा गरी अन्तमा सत्ता नै कब्जा गर्ने योजना बनाएको आरोप लगाइरहेको छ । प्रचण्डले माधव नेपाल र झलनाथ खनाल जस्ता पूर्व एमालेका हस्तीहरुलाई साथमा लिन सफल भएबाट ओली पक्षले त्यस्तो तर्क गरेको हो ।

स्थायी कमिटी र केन्द्रीय कमिटिीमा ४० प्रतिशत हिस्सा र सचिवालयमा ३३ प्रतिशत हिस्सासहित नेकपा एकीकरणमा होमिएका प्रचण्डले पूर्व एमालेलाई विभाजित बनाई आफ्नो पक्षमा केन्द्रीय कमिटीका ७० प्रतिशत बनाउन सके । सचिवालयमा ४५ प्रतिशत र स्थायी कमिटीमा ६० प्रतिशत बनाउन सके । यसमा उनले माधव नेपालको साथ पाएका छन् ।

ओलीले माधव नेपाललाई प्रचण्डको सामान्य कार्यकर्ता भने । नेपाल प्रचण्डसँग जोडिएर उक्त समूहको अध्यक्ष बनाइए । यसलाई प्रचण्डले नेपालको ढाडमा टेकेर ओलीमाथि प्रहार गर्न खोजेको तर्क गरेका हुन् । यसमा उनी असफल भएको ओली पक्षको तर्क छ ।

संसद बिघटनसँगै मध्यावधि चुनावको घोषणा भएको छ । त्यसको विरोधमा प्रचण्ड र नेपाल समूह आन्दोलनमा होमिएको छ । कुनै हालतमा संसद पुनःस्थापना गराइछाड्ने अडानका साथ प्रस्तुत भएका यी दुई नेताको कदमले अबको राजनीतिमा यताउताको अवस्था बनाउन सक्छ । प्रचण्डले माधव नेपालको साथ लिएर ओलीमाथि चुनौती थपेका छन् । यो शक्तिसंघर्षमा माधव नेपालको साथले ओलीलाई अप्ठ्यारो बनाएको छ । पूर्व माओवादी खासै विभाजित नभएको तर पूर्व एमाले विभाजित भएको अवस्थाले ओलीमाथि चुनौती बढाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्