Logo

वामदेवले ओलीलाई सुनाए एकताको सूत्र



काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा डाकेर महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटमा प्रतिनिधिसभा बिघटनपछि उत्पन्न परिस्थिति र नेकपाको एकता बचाउने विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो समूहमा विशेष जिम्मेवारी लिएर रहन आग्रह गरेको विश्वस्त स्रोतले बताएको छ । तर, वामदेवले त्यसलाई ठाडै अस्वीकार गर्दै एकता अभियान शुरु गर्न लागेको बताएका थिए । उनले कुनै पनि समूहमा नलागी एकता अभियानमा केन्द्रित हुने तयारी भइरहेको सुनाएका थिए ।

गौतमले अझैपनि एकताको सम्भावनाको सूत्रबारे छलफल गरेका थिए । संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पनि नेकपालाई फुट्न नदिने भन्दै उनले आफू एकताको अभियानमा सशक्त रुपमा लाग्ने बताएका थिए । गौतमले केही दिन अघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग भएको छलफलमा एकताबारे भएको कुराकानीबारे पनि छलफल गरेका थिए ।

दुई नेताबीच पार्टी एकताको सम्भावनाबारे पनि कुराकानी भएको बुझिएको छ । गौतमले एकताको सूत्रबारे छलफल गरेका थिए । विश्वस्त स्रोतका अनुसार उनले संसद पुर्नस्थापना, ओलीको पूरा कार्यकाल सरकारमा रहने सुनिश्चित वातावरणलगायतको सम्भावनालाई सूत्रका रुपमा सुनाएका थिए ।

नेकपाको एकताका लागि गौतमले १५ सय एक सदस्यीय एकता अभियान चलाउने तयारी गरेका छन् । उनले यसै हप्ता अभियानको घोषणा गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्