Logo

वीरगञ्ज नाकाबाट इन्धन आयातः परिमाण र मूल्य घट्दा राजस्व वृद्धि



वीरगञ्ज, पुस २१ । अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ । राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार दर बढाइएपछि आयात खुम्चिए पनि राजस्व बढी उठेको हो ।

इन्धन भित्रिने मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को ८ महीनामा यो नाकाबाट डिजेल र पेट्रोल दुवै वस्तुको आयात घटेको छ । गत आव २०७६र७७ को समीक्षा अवधिको तुलनामा आयात र भन्सार घोषणा मूल्य कम देखिन्छ ।

परिमाण र मूल्य घट्दा पनि सरकारलाई आउने राजस्व बढेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताए । सरकारले चालू आवमा डिजेल र पेट्रोलमा पैठारी भन्सार दर बढाएकाले राजस्व सकारात्मक देखिएको प्रमुख भन्सार प्रशासक आचार्यले बताए ।

सरकारले यो वर्ष डिजेलको भन्सार दर प्रति किलोलिटर (केएल) १२ हजार रुपैयाँ पुर्‍याएको छ । अघिल्लो वर्षसम्म यो दर २ हजारमात्र थियो । त्यस्तै पेट्रोल आयातमा लाग्दै आएको प्रति केएल १५ हजार २ सय रुपैयाँ भन्सार दर २५ हजार २ सय रुपैयाँ पुगेको आचार्यले बताए । ‘डिजेल र पेट्रोल आयातमा अघिल्लो वर्षको तुलनामा यो वर्ष भन्सार दर बढेको छ । भन्सार दर बढेपछि परिमाण घटे पनि राजस्व बढी संकलन भयो,’ प्रमुख भन्सार प्रशासक आचार्यले आर्थिक अभियानसँग भने ।

चालू आवको साउनदेखि मङ्सिरसम्ममा यो नाकाबाट १५ अर्ब ९६ करोड रुपैयाँ बराबरको ३ लाख ६१ हजार केएल डिजेल भित्रिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा ३ लाख ८३ हजार केएल डिजेल आयात हुँदा २४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।

डिजेलको आयात परिमाण ६ प्रतिशतले घट्दा यसबाट सरकारलाई आउने राजस्व भने ६७ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्षको पहिलो ८ महीनामा भन्सारले डिजेलबाट ७ अर्ब ९ करोड रुपैयाँ भन्सार महसुल उठाएको थियो ।

यो वर्ष मङ्सिरसम्ममा ११ अर्ब ८३ करोड राजस्व आएको वीरगञ्ज भन्सारले बताएको छ । भन्सारका अनुसार डिजेल राजस्वमा योगदान दिने मुख्य वस्तु हो । यस अवधिमा डिजेल आयातबाट सबैभन्दा बढी ९कुल राजस्वमा २० प्रतिशत० उठेको भन्सारको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्