Logo

सुदूरपश्चिममा पहिलोपटक व्यावसायिक कागती खेती



कैलाली, पुस २१। सुदूरपश्चिम प्रदेशभित्र पहिलोपटक व्यावसायिक कागती खेती शुरू गरिएको छ । गोदावरी नगरपालिका–४ खैराना अत्तरिया कैलालीका दुई युवाले सामूहिक रूपमा व्यावसायिक कागती खेती गरेका हुन् ।

स्थानीय पुष्कर पन्त र खेमराज भट्टले भूमिराज एग्रो सर्भिस नामक कम्पनी स्थापना गरेर ८ बिघा क्षेत्रफलमा ‘थाई लेमन’ प्रजातिको कागती खेती गरेका छन् । यसका लागि १ करोड २३ लाख लगानी भएको बताइएको छ ।

अत्तरियास्थित खमौरामा रहेको सरस्वती आधारभूत प्राविको ९ बिघा जमीन १५ वर्षका लागि लिजमा लिएर ८ बिघामा कागती र एक बिघामा तरकारी खेती (भेडे खुर्सानी) लगाइएको छ । स्थानीय बजारमा कागतीको माग निकै बढी भएको र कागतीका लागि पनि भारतकै भर पर्नुपर्ने अवस्था देखेर शुरूमा गुजरातबाट बिरुवा ल्याएर कागती लगाइएको थियो । अहिले आफैले बेर्ना उत्पादन गर्दै आएको सञ्चालक पन्तले बताए ।

सुदूरपश्चिममा खपत हुने ७० प्रतिशतभन्दा बढी कागती भारतका विभिन्न शहरबाट आयात हुने गरेको भन्दै सञ्चालक पन्तले कागतीको बजारको राम्रो सम्भावना देखेर यसको व्यावसायिक खेती शुरू गरिएको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्