Logo

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने



काठमाडौं, पुस २१ । एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो ।

रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै २५ मेगावाटको सिङ्गटीखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

ठेकेदार कम्पनीसँग सन् २०१० मा निर्माण सम्झौता भएको यो आयोजनामा स्थानीयवासीको अवरोध मात्र जिम्मेवार थिएन । निर्माण गर्ने ठेकेदारको ढिलासुस्तीका साथै सामान आयातमा समस्याले पनि टावर निर्माणमा अवरोध हुँदै आएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।

अहिले झिँगाने र टेकनपुरमा रहेको स्थानीयवासीको अवरोध साम्य भएपछि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावर कम्पनीले बाँकी रहेका छवटा टावर निर्माणलाई तीव्रता दिएको छ ।गोेरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्