Logo

शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङ प्रदेश इन्चार्जबाट ‘आउट’



काठमाडौं, पुस २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जमा हेरफेर गरेको छ ।

प्रचण्ड–नेपाल समूहको सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको हो । बैठकले लुम्बिनीको इन्चार्जमा युवराज ज्ञवाली र गण्डकीको इन्चार्जमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार बैठकले गण्डकी प्रदेशको सह–इन्चार्जमा तुलबहादुर गुरुङलाई ल्याएको छ । सो पदमा रहेका किरण गुरुङलाई हटाएको जनाइएको छ । प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै अन्य प्रदेशमा समेत जिम्मेवारी हेरफेरको तयारी प्रचण्ड–नेपाल समूहले गरेको छ । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अर्का अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । विभिन्न नेतालाई चयन गरिएको सो कार्यदलले जिम्मेवारीबारे एक साताभित्र टुङ्गो लगाउने प्रचण्ड–नेपाल समूहले जनाएको छ । गोरखापत्र दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्