म्याग्दी, पुस २१ । जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो ।
आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गरेकी छन् । आश्रममा आफू बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केही व्यक्तिले निकालेको वृद्धाले प्रजिअसमक्ष गुनासो पोखेकी हुन् ।
“म बिरामी भएर थलिएकी छु, उहाँहरुले आश्रमबाट पटकपटक निक्लिएर जा भनेर दबाब दिनुभयो, म कहाँ जाने, कुनै ठाउँ थिएन, केही दिन चिनेजानेकाको शरणमा परेँ, अति भएपछि न्याय पाउँछु की भनेर हजुरसमक्ष आएकी हूँ”, प्रजिअ समक्ष पौडेलले रुँदै भनेकी छन्। आफन्त र संरक्षकसमेत नभएकी पौडेलले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने र निःशुल्क खाने गर्दै आएकी थिईन् ।केही समयदेखि बिरामी भएपछि शरीर काँप्ने समस्याले आश्रममै आराम गरेर बस्दै आए पनि त्यहाँ कार्यरत केही कर्मचारीले अध्यक्षले आश्रममा नराख्न भनेको र निस्कन बारम्बार दबाब दिएपछि आफूलाई आश्रमबाट निकालिएको पौडेलको गुनासो रहेको छ । रासस