Logo

के कम्युनिस्ट कमजोर भएका हुन् ?



काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीको विवाद चर्कदै जाँदा उपाध्यक्ष वामदेव गौतमले निकटस्थहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली गौर्वाचोभ पथमा लागेको टिप्पणी गरेका थिए । ओलीले संसद बिघटन गराएपछि नेकपा नेता माधवकुमार नेपालले ओलीको कदमलाई गोर्वाचोभपथ भने । ओलीको कदमलाई गोर्वाचोभपथ भन्नु अर्थपूर्ण छ ।

सोभियत संघ बिघटनका बेला मिखायल गोर्भाचोभ रुसका राष्ट्रपति थिए । उनले चालेका कदमले सोभियत संघ बिघटन मात्र भएन त्यहाँबाट कम्युनिस्ट पार्टी नै पत्तासाफ जस्तै भयो । अहिले रुसमा मात्र नभई पूर्व सोभियत राज्यहरुमा कम्युनिस्टहरु पलायन जस्तै छन् ।

सन् १९९१ मा कट्टरपन्थी कम्युनिस्टहरुले गोर्वाचोभविरुद्ध सैनिक कू गर्न खोज्दा असफल भएका थिए । उक्त घटनाले बोरिस यल्तसिनलाई सत्तामा पुर्यायो । गैर कम्युनिस्टहरु रुसको सत्तामा पुगेका थिए । यही घटनालाई जोडेर ओलीको पछिल्लो कदमको विश्लेषण नेकपाभित्र र बाहिर हुन थालेको छ ।

नेकपाभित्र माक्र्सवादका गहिरो व्याख्याकर्ता घनश्याम भुसालले प्रतिनिधिसभा बिघटनलाई सामूहिक आत्महत्या भनेका छन् । उनले यसो भन्नुमा भारी बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनाव घोषणा गरेका छन् । यसले देशको राजनीति नयाँ मोडमा पुगेको छ ।

कम्युनिस्टहरुको इतिहासमै पहिलोपटक दुई तिहाईको सरकार बन्दा आफ्नै कारणले अवस्था बदलिएको छ । अबको अवस्था निकै चुनौतीपूर्ण बन्ने देखिदैछ । यो घटनाले रुसमा कम्युनिस्टहरुको पतन भएजस्तै अवस्था नेपालमा पनि आउन सक्छ । रुसको शितयुद्धताकाको घटना र अहिलेको घटना केही मिल्दोजुल्दो छ । रुसमा गोर्वाचोभमाथि कट्टरपन्थी कम्युनिस्टहरुले कू को प्रयास गर्दा असफल भएपछि नयाँ परिस्थिति सृजना भएको छ । जसले कम्युनिस्टहरुबाट सत्ता गुम्यो र कहिले फर्किएन ।

अहिले ओलीको कदमले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको छ । देशमा गणतन्त्रविरोधी आवाजमा बल पुगेको छ । यसले कम्युनिस्टहरुलाई पतनको अवस्थामा पुर्याउने सम्भावना पनि नकार्न सकिदैन ।

 



प्रतिक्रिया दिनुहोस्