बाँके, २१ पुस । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–१ बस्ने आकाश सार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०७५ फागुन २९ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी बाँके कोहलपुर नगरपालिका–११ बस्ने सुरज परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७५ पुस १० गतेको फैसलाले चोरी मुद्दामा ११ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।
दुवै जनालाई जिल्ला अदालत बाँकेमा बुझाउने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।