Logo

किन प्रतिनिधिसभा बिघटनको विरोधमा छन् रामचन्द्र पौडेल ?



काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०४८ साल देखि २०७० सालसम्म भएका संसदीय र संविधानसभा गरी पाँचवटा निर्वाचनमा विजयी भएपनि २०७४ सालमा पराजित भए । तनहुबाट लगातार पाँचपटक निर्वाचित भएका पौडेल छैठौंपटकमा नेकपाका किसानलाल श्रेष्ठसँग पराजित भएका थिए । यतिबेला सांसद नभएपनि उनी प्रतिनिधिसभा बिघटनको विरोध गर्दै आएका छन् ।

पौडेलले आज जनता समाजवादी पार्टीले आयोजना गरेको अन्र्तक्रियामा प्रतिनिधिसभा बिघटनले काँग्रेसलाई फाइदा पुग्ने भनिएपनि लोकतन्त्र नै खतरामा पर्ने देखेर आफूले विरोध गरेको तर्क गरेका छन् । सांसद पनि नभएका र प्रतिनिधिसभामा आफ्नो गुट पनि कमजोर अवस्थामा रहेपनि पौडेलले किन संसद बिघटनको विरोध गरे ? जबकि काँग्रेस सभापति शेरबहादुर देउवा संसद बिघटनविरुद्ध आन्दोलनप्रति उत्साही छैनन् । उनी मध्यावधि चुनावको तयारीमा जानुपर्ने पक्षमा छन् ।

संसद बिघटनले लोकतन्त्र खतरामा परेको तर्कहरु हुँदै आएका छन् । योभन्दा चासोको विषय नेताहरु आफूलाई बलियो बनाउने रणनीतिक कार्डका रुपमा अहिलेको घटनाक्रमलाई उपयोग गर्न लागिपरेका छन् ।

काँग्रेस महाधिवेशनको वाध्यात्मक अवस्था रहेकोमा मध्यावधि चुनाव वैशाखमा भएमा सर्न सक्छ । काँग्रेस चुनावमा केन्द्रित हुँदा टिकट वितरणको साँचो सभापतिको हैसियतले देउवाकै हातमा रहन्छ । यसले उनलाई अझ बलियो बनाइदिन्छ । टिकटकै लागि देउवाको पक्षमा जानेहरु बढी हुनसक्छन् । यसप्रति पौडेल सचेत छन् ।
प्रतिनिधिसभा बिघटनमा देउवाले ओलीलाई भित्री रुपमा साथ दिएको चर्चा चलिरहेको छ । संवैधानिक परिषद्को बैठकले गरेका नियुक्तिको सिफारिशमा देउवा निकटस्थहरु पनि परेका छन् । यसले पनि पौडेललाई झस्काइदिएको छ ।

मध्यावधि चुनावको अस्त्रले काँग्रेस महाधिवेशन प्रभावित भएमा पौडेलको सभापति बन्ने आकांक्षामा धक्का पुग्नेछ । यसपटक सभापति बन्न नसकेमा पौडेलको उमेर पनि ढल्कदै जानसक्छ । त्यसले उनको काँग्रेस नेतृत्वमा पुग्ने प्रयासलाई झन् कमजोर पार्छ । त्यसैले प्रतिनिधिसभा सदस्य नभएको र यो संसदीय कार्यकालमा कुनै हालतमा प्रधानमन्त्री बन्ने सम्भावना नहुँदा पनि बिघटनको विरोधमा उत्रिएका छन् । उनी पार्टीलाई आन्दोलनमा केन्द्रित गर्नुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्