Logo

पल्सर स्पोर्ट्स अवार्डमा चार विधाको मनोनयन



काठमाडौं, २२ पुस । ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको छ । १७ औं संस्करणको यस अवार्डको खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

२०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्गत प्रतियोगितामा खेलाडीहरुले गरेको प्रदर्शन र प्राप्त उपलब्धिको आधारमा मञ्चले वर्षका युवा खेलाडी, पुरुष, महिला र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

पुरुष खेलाडी तर्फ मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।

महिला खेलाडी तर्फ भने तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

त्यस्तै युवा खेलाडी तर्फ भारोत्तोलनकी सन्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ लगायतका मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करोतेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीकोृ भोटिङ लाइन जारी रहेको छ । इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुने मञ्चले जनाएको छ ।

मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकहरुको छनोट गरेको हो । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने एनएसजेएफले बताएको छ । अवार्ड कार्यक्रम पुस ८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रुपमा गरिने आयोजक मञ्चले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्