Logo

लेखराज भट्टले गरे भीम रावलमाथि कारबाहीको सिफारिश, ३० लाख हिनामिनाको आरोप



काठमाडौं, २३ पौष । नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले स्थायी कमिटी सदस्य डा. भीम रावलमाथि ३० लाख हिनामिनाको आरोप लगाएको छ । उनीमाथि ओली समूहको सुदूरपश्चिम कमिटीले कारबाहीको सिफारिस समेत गरेको छ ।

ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । रावलले सुदूरपश्चिम नेकपा पार्टी कमिटीको ३० लाख रुपैयाँ आर्थिक हिनामिना गरेको भन्दै कारबाही गर्न सिफारिस गरिएको सुदूरपश्चिम नेकपा ओली समूह प्रदेश इन्चार्ज समेत रहेका उद्योग मन्त्री लेखराज भट्टले रिपोर्टर्स नेपाललाई बताए । मन्त्री भट्टले भने, ‘उहाँलाई हामीले कारबाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं ।’ रावल नेकपा विभाजित नहुँदा सुदूरपश्चिम पार्टी इन्चार्ज हुन् ।

तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको थियो । उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि पहिलो पटक बसेको पाटीको बैठकले रावललाई कारबाही गर्ने सिफारिस गरेको हो । रावल प्रचण्ड माधव समूहका प्रभावशाली नेता हुन् ।

यसैगरी, ओली समूहको प्रदेश बैठकले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय विस्तार गरेको छ । नेकपामा प्रदेशहरुमा पनि विभाजनको असर पर्दै जाँदा सुदूरपश्चिम प्रदेशमा नयाँ परिस्थिति विकास भएको हो ।



प्रतिक्रिया दिनुहोस्