बलेवा, २३ पुस: अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी, पर्वत र गुल्मीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीमा जोडिएका जिल्लाका गतिविधिमा समेत सहकार्य गर्न सहमत भएका हुन् ।
लागुऔषध नियन्त्रण, अवैध हातहतियार, विपद् व्यवस्थापन, खोज तथा उद्धार, विकास निर्माणका आयोजनाको नियमित अनुगमन, नयाँ प्रजातिको कोभिड नियन्त्रण, प्राकृति तथा वातावरण संरक्षण, स्थानीय तहसँग प्रभावकारी समन्वय, यातायातका साधनको जाँच र सडक अनुशासन कायम, आपतकालीन रणनीति तथा सामाजिक अपराध नियन्त्रणलगायका विषयमा निर्णय भएको बागलुङका प्रजिअ सुरेश न्यौपानेले जानकारी दिए ।
“सिमाना जोडिएका जिल्लाबाट हुने अवैध र कानूनविपरीतका गतिविधिलाई अन्त्य पार्न नियमित भेटघाट हुन्छ”, उनले भने । उनले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र अलपत्र विकास निर्माणका कामलाई समेत तीव्रता दिन आवश्यक सहयोग आदानप्रदान हुने बताए । बैठकमा सहभागी सुरक्षा अङ्गका प्रमुखले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।-रासस/File Photo