Logo

सुर्य चिन्हको टुंगो लगाउन निर्वाचन आयोगले दियो गति, अधिकारीहरुबीच विवाद



काठमाडौं, २४ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्र वैधानिकताको विवाद टुंगो लगाउन निर्वाचन आयोगले प्रक्रियालाई गति दिएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल समूहलाई बिहिबार पत्र पठाएर अद्यावधिक विवरण मागेको छ ।

आयोगले दुवै पक्षबाट प्राप्त पत्रका आधारमा विवरण मागेको जनाएको छ । प्रचण्ड नेपाल समूहबाट तीन र ओली समूहबाट दुईवटा पत्र आयोगमा पुगेको छ । यही आधारमा पत्र पठाएर अद्यावधिक विवरण मागेको हो ।

अद्यावधिक विवरण माग्नुलाई अर्थपूर्ण मानिएको छ । नेकपा विभाजनपछि प्रधानमन्त्री समेत रेहका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तार गरेका थिए । उनले विस्तारबारे आयोगलाई जानकारी गराइसकेका छन् ।

प्रचण्ड माधव समूहले भने ओलीलाई अध्यक्षबाट हटाएर सोबारे जानकारी आयोगलाई गराइसकेको छ । उक्त समूहले केन्द्रीय कमिटीमा कुनै हेरफेर गरेको छैन ।

निर्वाचन आयोगले अद्यावधिक विवरण मागे अनुसार ओली या प्रचण्ड समूहमध्ये कुनचाहिंलाई मान्यता दिने हो चासोको विषय बनेको छ । तर, आयोगभित्रका अधिकारीहरुबीच यसबारे मत बाझिएको बुझिएको छ । आयोगभित्र दल विभाजन हुन नियमावलीले नदिने भएकाले पुरानै कार्यसमितिलाई नै मान्यता दिइनुपर्ने वा नयाँ अवस्थामा कुनै एक समूहलाई वैधानिकताको मान्यता दिइनुपर्नेमा मत बाझिएको हो ।



प्रतिक्रिया दिनुहोस्