काठमाडौं, २५ पौष । नयाँ प्रकारको कोरोना भाइरसको जोखिमपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण रद्द गरेका छन् । २६ जनवरीमा भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथीको रुपमा निम्तो गरिएका जोन्सनले कोरोना महामारीका कारण भ्रमण रद्द गरेको जानकारी पठाइसकेका छन् ।
बेलायतमा महामारीको खतरालाई दृष्टिगत गरी त्यहाँँँका प्रधानमन्त्रीले भ्रमण नै रद्द गरेका छन् भने नेपालमा महामारीको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली सभा सम्मेलनमा भाषण गर्दै हिंडेका छन् । ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उनी सभा सम्मेलनमा व्यस्त हुनथालेका छन् । आज ओलीले राजधानी बाहिरको धनगढीमा हजारौं सहभागी सभालाई सम्बोधन गरे ।
सरकार आफैले स्वास्थ्य सुरक्षा कायम गर्न भीडभाड नगर्न भनिरहँदा प्रधानमन्त्री ओली स्वयं भीडभाडमा पुगेका छन् । हजारौं सहभागी सभामा सम्बोधन गरेका छन् । यसअघि ओलीले राजधानीमा सयौंको संख्यामा कार्यकर्ताहरुलाई दिनहुँजसो सम्बोधन गर्दै आएका छन् । ओलीले सभा र सम्मेलनहरुमा मास्क नलगाई भाषण गरिरहेको देख्न सकिन्छ ।
नेकपा विवादपछि उत्पन्न परिस्थितिले जुलुस र भीडभाड हुने गतिविधि चलिरहेको छ । नेकपाको प्रचण्ड समूहले दिनहुँजसो जुलुस गर्दै आएको छ । नेताहरु आफै भीडभाडमा मास्क विना नै देखिन थालेका छन् ।
नेपाली काँग्रेस र जनता समाजवादी पार्टी पनि जुलुसहरु गरिरहेका छन् । यसले कोरोना महामारीको खतरा झन् बढाएको छ ।