Logo

ज्ञवालीले भारत भ्रमणका क्रममा कोरोनाविरुद्धको भ्याक्सिन सुनिश्चित गर्लान् ?



काठमाडौं, २४ पौष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा भारत पुग्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सभामा यसको खुलासा गरे । भारत भ्रमणमा ज्ञवालीले सीमा समस्याबारे कुरा उठाउने समेत बताए ।

ज्ञवालीको भारत भ्रमणमा द्विपक्षीय हित र समस्या समाधानबारे कुराकानी हुँदा सीमाको विषय पनि मुद्दा बन्ने निश्चित भएको छ । यसलाई ओलीले उजागर गरेका छन् । भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल ल्याउने विषयमा पनि सरकारले गम्भीरताका साथ कुरा उठाउने भएको छ । यसका लागि सम्झौताको वातावरण तयार गर्ने प्रयास पनि हुने बुझिएको छ ।

भारतले कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिनलाई आकस्मिक प्रयोगको अनुमति दिएको छ । पुनेस्थित सेरम कम्पनिले उत्पादन गरिरहेको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन केही दिनभित्र प्रयोगमा ल्याउने तयारी भएको छ । भारतमा प्रयोगमा ल्याइएको दुई हप्ताभित्र दक्षिण एशियाका छिमेकी देशहरुमा निर्यात गर्ने तयारी समेत भारतले गरेको छ । त्यसमा नेपाल प्राथमिकतामा परेको छ । नेपालले पनि अक्सफोर्ड भ्याक्सिन चाँडै देशभित्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

सेरमले उत्पादन गरेको कोभिसिल्डको निर्यातको तयारी भइरहेको छ । बँगलादेशले भयाक्सिन अर्डर गरिसकेको छ । निर्यातको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । नेपालबाट पनि भारतबाट भ्याक्सिन ल्याउने पहल भइरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको १ माघमा हुने भारत भ्रमणले निकै महत्व राख्छ ।

पहल र प्रक्रिया सफल भएमा माघभित्र भ्याक्सिनको निश्चित डज नेपाल भित्रनेछ । भारतले अनुदान र सुपथ मूल्य दुवैमा सुमधुर सम्बन्ध भएका छिमेकीलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको छ । त्यसमा नेपाल पनि प्राथमिकतामा परेको हो । खुल्ला सीमा भएकाले पनि भारतले नेपालमा पनि जतिसक्दो छिटो भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको बुझिएको छ । नेपालले अनुदान र भारतमा पाउने मूल्यमै भ्याक्सिन भित्राउने पहल बढाएको छ ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्