Logo

ओली भीम रावलप्रति किन अति आक्रामक ?



काठमाडौं, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेचयुक्त बोलीलाई पछिल्लो समय बढावा दिइरहेका छन् । उनी अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि अर्को समूहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति आक्रामक हुँदै आएका छन् ।

ओलीले पछिल्लो भाषणहरुमा कुनै न कुनै तरिकाले प्रचण्ड र माधव नेपालमाथि घोचपेच गर्दै आएका छन् । उनले प्रचण्ड र माधव नेपाललाई जत्तिकै घोचपेच भीम रावललाई गर्दै आएका छन् ।

आज रावलको गृहक्षेत्र सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले केही समय रावललाई घोचपेच गर्न खर्चिए । उनले भने, ‘नानीभन्दा नाना ठुला मान्छे भन्दा कुरा ठुला !’ रावलप्रति उनको व्यङ्ग्य थियो ।

ओलीले रावललाई बाहिर राष्ट्रवादी देखिने र भित्र उखरमाउलो चलखेल गर्ने गरेको आरोप लगाए । उनले रावलप्रति संकेत गर्दै भने, बाहिर राष्ट्रवादी देखिने उखरमाउलो भएर चलखेल गर्ने । रावल मन्त्री बन्न नपाएर छटपटिएको टिप्पणी गरे ।

यसअघि ओलीले भीम रावलले आफ्नो शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा निमागले काम गरेन भनी टिप्प्णी गरेको आरोप लगाउँदै महिलाको अपमान गरेको टिप्पणी गरेका थिए । अनेरास्ववियूको कार्यकर्ता भेलामा ओलीले भीम रावलप्रति व्यङ्ग्य गर्दै भनेका थिए, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ? छरछिमेकका दिदीबहिनीका अगाडि कसरी देखाए होलान् ?’

आखिर किन ओली भीम रावलप्रति यति धेरै आक्रामक छन् ? तत्कालिन नेकपा एमालेको अन्तिम महाधिवेशनमा रावल माधवकुमार नेपाल पक्षमा थिए । उनले ओलीलाई हराउन देशभर र विशेषगरी सुदुरपश्चिमबाट पूरा शक्ति लगाएका थिए ।

एमाले र माओवादीबीच एकीकरण हुँदा रावल सचिवालयमा लगिएनन् । उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका रावलले यसप्रति निकै असन्तुष्टि जनाएका थिए । त्यसपछि ओली र प्रचण्डको मेलले माधव नेपाल कमजोर भए । पार्टीभित्र ओलीको अधिकांश कदमको खुलेर आलोचना गर्ने रावल नै हुन्थे । उनी ओलीको एमसीसी संसदबाट पारित गर्न खोज्ने कदमको समेत विरोधी देखिएका थिए । ओलीले बालुवाटारमा विदेशी अधिकारी र नेतालाई भेटेकोमा समेत आपत्ती जनाए ।

रावलले प्रतिपक्षी दलका नेताले भन्दा खरो तरिकाले ओलीको आलोना गरिरहे । यसबाट ओली निकै आक्रोशित भएका छन् । त्यसैले उनले सुदुरपश्चिम पुगेर रावलको चर्को आलोना गरे ।



प्रतिक्रिया दिनुहोस्