Logo

माघेसक्रान्ति नजिकिदै : टोखामा चाकु बनाउन भ्याइनभ्याई (तस्विरहरु)



पुष २४, काठमाण्डौ । माघको पहिलो दिन अर्थात माघे सक्रान्तिका विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । राजधानीमा आउने चाकुमा टोखाको चाकु निकै प्रख्यात छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्व राख्ने गरेको छ । माघे संक्रान्ति आउन एक हप्ता बाँकी रहँदा टोखामा चाकु र तिलको लड्डु बनाउन भ्याइ नभ्याइ छ ।

टोखाको चाकु भनेपछि देशैभरि प्रख्यात छ । माघे संक्रान्ति आउनु महिना दिन अघिदेखि नै टोखा व्यस्त भइसकेको थियो । अहिले करिब एक हप्ताअघि टोखा पुग्दा त्यहाँका स्थानीयहरु चाकु, तिलको लड्डु बनाउन व्यस्त थिए । अहिले चाकु बनाउने उद्योगलाई भ्याईनभ्याई छ । चाकु उद्योगका व्यापारीले १५ देखि २० लाखमा लगानी गरेर आन्दानी ३० देखि ३५ लाख गर्ने गरेका छन् । अहिले साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बढी देखिन्छ ।

मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । साथै, स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइएको हुन्छ । जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महँगो छ । तर पनि मागअनुसार उत्पादन गर्न नसकिएको त्यहाँका चाकु व्यवसायी बताउँछन् । उत्पादित चाकु प्रतिकेजी १२० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

चाकु र तिलको लड्डु किन्नेहरु पनि उद्योगमै भेटिन्छन् । चार पाँच वर्षदेखि निरन्तर चाकु र तिलको लड्डु टोखाबाटै किन्ने गरेका उपभोक्ता पनि सन्तुष्ट छन् । टोखामा हाल एक दर्जनभन्दा बढी चाकु बनाउने उद्योगहरु छन् । ती उद्योगमा सादा, स्पेसल, खुवा चाकु र सुत्केरीका लागि विशेष चाकुहरु बनाइन्छ ।

बदाम, किसमिसलगायत राखेर बनाइने स्पेसल तथा सुत्केरीका लागि हुने चाकु अर्डर अनुसार मात्र बनाइने गरिएको छ । नेवारी सँस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ । त्यस्तै, चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने पनि हुन्छ। विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ ।

चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने विज्ञको भनाइ छ । बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव विज्ञको छ ।



प्रतिक्रिया दिनुहोस्