Logo

प्रचण्डहरु चुनावमा आउँछन्ः देउवा



काठमाडौं, २५ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढिलोचाँडो चुनाव हुने र त्यसमा प्रचण्ड समूहको नेपाल कम्युनिस्ट पनि सहभागी हुने बताएका छन् । उनले नेपाली काँग्रेसले देशभर आयोजना गरेको प्रदेशस्तरीय विरोधसभा अन्र्तगत बुढानिलकाण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै चुनाव हुने सम्भावना औल्याएका हुन् ।

‘ढिलोचाँडो चुनाव हुन्छ, प्रचण्डहरु पनि चुनावमा आउँछन्,’ देउवाले भने । उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिट विचाराधीन भएकाले प्रभावित पार्ने गतिविधि गर्न नहुने तर्क गरे । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्न हुँदैन ।’ काँग्रेसले अदालतको निर्णय मान्ने बताउँदै फैसला बिघटनको पक्षमा आए चुनावमा जाने स्पष्ट पारे ।

देउवाले संसद पुनःस्थापनाको विषयमा केही बोलेनन् । उनले चुनावको पक्षमा बारम्बार बोलिरहे ।

काँग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमको विरोधमा दुई किसिमको धार स्पष्ट देखिएको छ । देउवा मध्यावधि चुनावमा जानुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनामा जानुपर्ने र चुनाव हुननसक्ने दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्