पुष २५, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको आरोप लगाएका छन् । नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थालेको र पद जोगाउनतिर मात्रै ध्यान केन्द्रीत गरेको अरोप लगाए ।
आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएपनि खनालले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरी पार्टीलाइै भर्याङमात्र बनाएको बताए । विश्वासको साथमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर मुलुकको अभिभारा सुम्पनु गलत भएको उनको ठहर छ । खनालले तत्कालिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलको भूमिकाप्रति आलोचना गरेका छन् । उनीहरु प्रधानमन्त्री केपी ओलीको जागिरे भएको उनले बताए ।
प्रधानमन्त्री ओलीले अनेक पटक संंसद भङ्ग गर्ने धम्की दिएको तर आफूहरुले संविधानले नदिने भनी सुध्रने मौका दिएको खनालको भनाई छ । त्यसैगरी समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको उनको आरोप छ ।
खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे ।
मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालको दाबी छ ।