काठमाडौं, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनलाई असंवैधानिक भन्ने चारजना पूर्व प्रधानन्यायधीशहरुले स्वतन्त्र न्यायालयलाई सडकमा ओर्लिएर ललकारको आरोप लगाएका छन् । उनले आज राष्ट्रियसभा बैठकमा बोल्दै चारजना पूर्व प्रधानन्यायाधीशहरुको विगतको न्याय सम्पादनमा समेत प्रश्न गरे ।
‘केही वर्ष जागिर खाएर अझै सर्वोच्च अदालतमा छु जस्तो गर्ने ?’ ओलीले भने,‘उहाँहरुले कस्तो न्याय दिनुभएछ अहिले स्वतन्त्र न्यायालयलाई सडकमा ओर्लिएर ललकारिरहनुभएको छ ।’ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई समेत धम्की दिन थालिएको ओलीको टिप्पणी थियो ।
पूर्व प्रधानन्यायधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले प्रतिनिधिसभा बिघटन असंवैधानिक भन्दै शुक्रबार वक्तव्य निकालेका थिए । त्यसप्रति प्रधानमन्त्री ओली निकै असन्तुष्ट देखिएका छन् ।
प्रतिनिधिसभाको बिघटन राजनीतिक प्रश्न भएको उनको जिकिर थियो । उनले राजनीतिक प्रश्न भएकाले सर्वोच्च अदालतमा परेको रिटमा केही भनिरहनुनपर्ने भनी टुंग्याइदिए हुने बताए । प्रधानमन्त्रीले संसद बिघटन गर्न पाउँदैनन् भनी संविधानमा नलेखिएको टिप्पणी गरे ।