Logo

ओली र प्रचण्ड मिलाउन वामदेवले तयार गरे यस्तो रसायन



काठमाडौं, २७ पौष । राष्ट्रिय सभाको बैठकमा दिनानाथ शर्माले वामदेव गौतमको नामै लिएर नेपाल कम्युनिस्ट पार्टी मिलाउन रसायन हुनसक्ने बताएका थिए । उनले गौतमले मिलाउन सक्ने भनेका थिए । नभन्दै गौतम रसायन बोकेर फुटेको नेकपा मिलाउन लागिपरेका छन् ।

गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरिसकेका छन् । शनिबार घोषणा गरेको अभियानमा उनी स्वयं संयोजक छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । उनले दुवै नेतासमक्ष एकताको सूत्रबारे समेत प्रस्ताव गरे ।

गौतमले नेकपा मिलाउन आएको चिनियाँ टोलीसँग पनि भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौंसँग भेटी नेताहरुलाई मिलाउने सूत्रबारे कुरा गरेका थिए । उनले चीनबाट रसुवा नाका हुँदै पसेको तीनजना चिनियाँसँग पनि भेटेको बुझिएको छ । अहिले गौतम र चिनियाँहरुको नेकपा मिलाउने स्वार्थ मिलेको छ । त्यसैले गौतमप्रति चीनले बढी भरोसा गरेको देखिदैछ ।

गौतमले निर्वाचन आयोगमा समेत सम्पर्क गरी नेकपा विवाद सल्टाउने उपायबारे कुरा गरेको बुझिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग यसबारे कुरा गरेको थिए । विश्वस्त स्रोतका अनुसार गौतमले केही समय नेकपा विवादको टुंगो लगाउन अलमल गर्न भनेका छन् । थपलिया यसप्रति सकारात्मक भएका छन् ।
आयोगले पनि वामदेवकै लाइनमा निर्णय लिने बुझिएको छ । राजनीतिक दलसम्बन्धी ऐनले नेकपा विभाजन हुन मिल्दैन । वामदेवले पनि यही लाइन समातेका छन् ।

एमाले र माओवादी मिलेर बनेको नेकपा फुट्न कम्तिमा पाँच वर्ष एकीकरण भएको हुनुपर्छ । तर, नेकपा एकीकरण भएको तीन वर्ष मात्र पुगेको छ । फुटका लागि अध्यादेश ल्याएर ऐन संशोधन अनिवार्य हुन्छ । यही बिन्दु टेकेर निर्वाचन आयोग अघि बढ्दैछ । पार्टीको आधिकारिकता ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई मात्र दिने तयारी भएको छ । वामदेवले खोजेको पनि यही हो । उनी अहिले पनि ओली र प्रचण्ड दुवै अध्यक्ष भएको नेकपामा छन् । दुवै समूहले उनलाई उपाध्यक्ष मानेकै छ ।
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम एकता अभियानको घोषणा गरेका छन् । उनले आज प्रेस विज्ञप्तिमार्फत् नेकपाको कुनैपनि समूहको नलागेको स्पष्ट पार्दै आफू संयोजक बनेर एकता अभियानको घोषणा गरेका हुन् ।

नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोज कबनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दै तपाईहरुको अगाडि खडा भएको छु, गौतमले विज्ञप्तिमार्फत् भनेका छन् । उनले पार्टी एकता जोगाउन वा पुनः एकीकरण गर्ने उद्देश्यले अभियान चलाएको तर्क गरेका छन् ।

पुनः एकीकरणको अभियानमा सामेल नहुने नेताहरुलाई जनताले माफी नदिने समेत गौतमले बताएका छन् । उनले एकता अभियानमा संगठित हुन र एकता अभियानको नाम संगठन खडा गर्न अपिल समेत गरेका छन् । कसैलाई पनि अपमान नगर्ने शैली अपनाउन उनले आग्रह समेत गरेका छन् । गौतमले भनेका छन्, हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्