काठमाडौँ, २७ पुस: उपभोक्ता समितिमार्फत सम्पदा क्षेत्रको सडक निर्माणका लागि पेश्की दिएको एक दशक पुग्न लाग्दा पनि काम नभएपछि वास्तविक अवस्था बुझ्न अध्ययन समिति गठन गरिएको छ ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आर्थिक वर्ष २०६९-०७० मा उपभोक्ता समितिमार्फत इँटा एवं ढुङ्गा छपाइ गर्नेगरी १९ नं वडामा स्वीकृत गरेका तीन वटा कार्यक्रम अझै अलपत्र छ । आठ वर्षदेखि उपभोक्ता समितिका काम अलपत्र भएपछि वास्तविकता पत्ता लगाउन महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना शाक्यको संयोजकत्वमा समिति गठन गरिएको कार्यक्रम प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए ।
इन्द्रसभादेखि सतु शाहीको घरसम्म ढुङ्गा छपाइ गर्ने, बञ्जाहिटीमा इँटा छपाइ र मेढुङ्गा मार्गमा ढुङ्गा छपाइ गर्ने काम उपभोक्ता समितिमार्फत गर्ने गरी स्वीकृत भएको थियो । १७, १५ र सात लाखका यी तीन योजना आठ वर्षसम्म सम्पन्न नभएपछि वडालेसमेत विकास निर्माणका काम गर्न नपाएको वडाध्यक्ष शशिलाल श्रेष्ठले बताए । “सडक अलपत्र भयो भनी स्थानीयवासीको गुनासो आएको छ, हामीले काम गर्न खोज्दा पहिले नै गरेको कामको पेश्की फछ्र्यौट नभएकाले गर्न नपाइने कारणले सडक जीर्ण बनेको छ”, उनले भने ।
भूकम्पलेसमेत असर गरेपछि काम नभएर अलपत्र भएकामा वडावासीले पनि खोजी गर्न थालेका थिए । पछिल्लो समय वडा नं १९ का नागरिक मञ्चले वर्षौंदेखि अलपत्र बनेको योजनाका बारेमा उजुरी गरेपछि कार्यक्रमको मूल समितिले वास्तविकता पत्ता लगाउने उद्देश्यले अध्ययन समिति गठन गरेको हो । मञ्चका अध्यक्ष सुमन खड्गी उपभोक्ता समितिका नाममा बजेट ल्याउने र काम नगर्ने प्रवृत्ति बढ्न थालेको बताए । अध्ययन समितिको सदस्य सचिवसमेत रहेका इञ्जिनीयर अमित वज्राचार्य स्थलगत अध्ययन गरी फाइल सूक्ष्म अध्ययनको काम भइरहेको बताए ।
अध्ययन समितिमा महानगरका कानून अधिकृत देवीकुमार तिमल्सिना, लेखा अधिकृत नानीशोभा डङ्गोल सदस्य रहेका छन् । इञ्जिनीयर वज्राचार्य सदस्य सचिव रहेका छन् । तीनवटै उपभोक्ता समितिले पहिलो किस्ता लगेर दोस्रो किस्ता फछ्र्यौट गरेका छैनन् । कार्यक्रमले दिएको बजेटमा उपभोक्ता समितिको तर्फबाट १५ प्रतिशत थप गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।-रासस/File Photo