काठमाडौं, २७ पौष । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सबैभनदा राष्ट्रघाती भएको आरोप लगाएका छन् । उनले ओलीको गतिविधिले राष्ट्रलाई गम्भीर संकटमा धकेलेको समेत टिप्पणी गरे ।
‘सबैभन्दा राष्ट्रघाती मान्छे हुन् ओली,’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आज राजधानीमा आयोजित संविधानभा सदस्य मञ्चद्वारा आयोजित अन्र्तक्रियामा भने,‘यीनीबाट देशलाई बचाउनुपर्छ ।’ उनले ओलीलाई हिन्दुवादी भने ।
ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको बाबुरामको टिप्पणी थियो । उनले ओलीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए ।
ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको बताए । उनले भने,‘ओलीले सबै प्रतिशोधस्वरुप गरिरहेका छन् ।’’
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, सभासदहरु खिमलाल देवकोटा, कल्पना धमला र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले समेत बोलेका थिए । तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल