काठमाडौं, २७ पौष । प्रतिनिधिसभा बिघटनको कदम चाल्नु पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । उनले भेटमा कुनैपनि बेला मध्यावधिमा जानसक्ने बारे समेत सुनाएका थिए । ओलीले पार्टीभित्र घेराबन्दी भएको र त्यसलाई तोड्न ताजा जनादेशमा जानसक्ने सुनाउँदा देउवा उत्साही भएका थिए ।
प्रचण्डले गएको चुनाव अघि आफूलाई धोका दिएको भन्दै देउवा असन्तुष्ट थिए । उनले प्रचण्डलाई देखाइदिने निकटस्थलाई भन्ने गर्थे । अर्कोतर्फ पार्टीको महाधिवेशन अगाडि नै चुनाव भएमा राजनीतिक फाइदा हुने हिसाबकिताब देउवाको थियो । त्यसैले ओलीको मध्यावधि चुनाव घोषणालाई देउवाले भित्र भित्रै समर्थन गरे । उनले साथ दिने वचन पनि दिए ।
मध्यावधि चुनावमा जानुपर्ने पक्षमा देउवा खुलेरै लागेका छन् । उनले सरकारले गरेका संवैधानिक निकायको राजनीतिक नियुक्तिमा भाग समेत लिएका छन् । यसरी ओली र देउवाबीच दुर समयसम्मका लागि समिकरण बनेको देखिदैछ ।
संसद बिघटनपछि मध्यावधि निर्वाचनमा जान ओली र देउवा दुवैले आग्रह गरेका छन् । ओली आफै चुनावी गतिविधिमा सक्रिय भएका छन् । देउवाले पनि कार्यकर्तालाई चुनावको तयारीमा लाग्न भनेका छन् ।
संसद बिघटनविरुद्ध सर्वोच्च अदालतले फैसला सुनाएमा पनि ओली सत्ता छाडिहाल्ने पक्षमा छैनन् । उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री पद दानको पद नभएको बताइसकेका छन् । उनले संसद पुनःस्थापना भएको अवस्थामा देउवासँग समिकरण गरेर जाने तयारीमा समेत ध्यान दिएको बुझिएको छ । तर, कुनै हालतमा संसद पुनःस्थापना नहुनेमा उनी ढुक्क छन् ।
ओलीको संसद बिघटनको कदमले उनको सत्ता संकट टारेकोमा कुनै शंका छैन । पार्टीभित्रबाट उनीविरुद्ध अविश्वासको प्रस्तावको तयारी भइसकेको थियो । बहुमत सांसदहरु ओलीको विपक्षमा थिए । संसद बिघटनसँगै मध्यावधि चुनाव घोषणाले देउवाले पनि तत्काल महाधिवेशनको सामना गर्नु नपर्ने भएको छ । यसरी मध्यावधिको अस्त्रले ओली र देउवा दुवैलाई लाभ पुगेको छ । दुवै दुर समयसम्मको राजनीतिक समिकरण गरेर जाने गरी बढेको देखिन्छ ।-फाइल् तस्बिर