Logo

रित्तै फर्कियो लाइसेन्सको लाम



काठमाडौं, पुस २८ । सवारी लाइसेन्सका लागि सोमबार यातायत कार्यालयले तोकेका केन्द्रमा जुटेका सयौं सर्वसाधारण घण्टौं लाम लागेर रित्तै फर्किए। कारण थियो– ट्राफिकका प्रतिनिधि गएनन्। नजानुको कारण थियो– सडकका नारा–जुलुसको व्यवस्थापन।

सडक आन्दोलनको मार अन्ततः सर्वसाधारणमै गएर ठोक्किन्छ भन्ने यो प्रतिनिधि घटना हो। ट्राफिक प्रहरी जान नसक्दा राजधानीका ३ ठाउँ ९चाबहिल, जगाती र ठूलो भर्‍याङ० मा सोमबारको लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा रोक्नु पर्‍यो। एकान्तकुनामा मात्र अलि ढिला गरी परीक्षा लिइयो।

कार्यालयले सोमबार बिहान ११ बजेका लागि परीक्षार्थीलाई बोलाएको थियो। निर्धारित समयमा लिखित परीक्षाका लागि यातायात व्यवस्था कार्यालयका कर्मचारी र परीक्षार्थी पनि आएका थिए। तर सबै कुरा तयारी भइसक्दा पनि ट्राफिक महाशाखाको प्रतिनिधि टोली आइपुगेन। ११ बजेको परीक्षा तर साढे १२ सम्म अन्योलमा रहेको थियो।

साढे १२ मा भने ट्राफिक प्रहरीले परीक्षा पारदर्शी बनाउन लिखित र प्रयोगात्मक परीक्षामा सीसी फुटेजको व्यवस्था गर्न अनुरोध गरेको पत्र पठाएको थियो। तर त्यसमा पनि परीक्षामा उपस्थित हुने, नहुने भन्ने खुलाएको थिएन । त्यसपछि सम्पर्क गर्दा ट्राफिक प्रहरी कार्यालयले उपस्थित हुन नसक्ने कुरा जानकारी गराएको थियो।

ट्राफिक प्रहरीको असहयोगले परीक्षा सञ्चालन गर्न नसकिएको यातायात व्यवस्था कार्यालय चाबहिलका अधिकृत सुदीप रेग्मीले बताए। ‘हामीले ट्राफिक महाशाखालाई अघिल्लै दिन सूचना गर्छौं,’ उनले भने, ‘तर उहाँहरूले आज आइदिनु भएन, कुनै खबर पनि भएन। हिजोसम्म सञ्चालन गरिरहेको परीक्षा आज सञ्चालन गर्न सकिएन।’

तर ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले यातायात कार्यालयमा उपस्थित हुन नसक्ने अघिल्लो दिनै जानकारी गराएको बताए। ‘हामीले लिखित रूपमा त केही पनि पठाएका थिएनौं,’ एसएसपी भट्टराईले भने, ‘तर सडकमा जुलुस र र्‍यालीको व्यवस्थापन गर्न जनशक्तिको कमी भएकाले हिजै यातायात कार्यालयका प्रमुखलाई जानकारी गराएका थियौं।’

यातायात व्यवस्थापन ऐन, २०४९ अनुसार सवारी चालक अनुमतिपत्र परीक्षाका लागि तीन सदस्य समितिको व्यवस्था गरिएको छ। समितिमा अध्यक्ष यातायात व्यवस्था कार्यालयका प्रमुख हुन्छन्। अध्यक्षबाहेक एक जना प्राविधिक कर्मचारी र एकजना ट्राफिक प्रहरीको प्रतिनिधि बस्ने प्रावधान छ। समितिमा एकजनाको अनुपस्थितिमा परीक्षा गराउन नसकिने भएकाले परीक्षा सञ्चालन हुन नसकेको हो। अन्नपूर्णपोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्