Logo

मल नल्याउने दुई कम्पनीलाई कारबाही



काठमाडौं, पुस २८ । समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई सरकारले कारबाही गरेको छ। तोकिएको समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको हो।

मल नल्याएपछि दुवै कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्ने निर्णय भएको कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरेलले बताए। पोखरेलका अनुसार ती दुई कम्पनीले डिसेम्बर पहिलो हप्ता मल ल्याउने प्रतिबद्धता जनाएका थिए। ‘समय मै रासायनिक मल आयात गर्न नसकेपछि दुई कम्पनीसँगको सम्झौता तोडेका छौं,’ पोखरेलले भने, ‘धरौटी जफत गरेर कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढायौं ।’

शैलुङले २५ हजार टन युरिया मल ल्याउने सम्झौता गरेको थियो। मल नल्याएपछि शैलुङको चार लाख दुई हजार पाँच सय डलर धरौटी जफत गरेको कम्पनीले जनाएको छ। त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले २० हजार मेट्रिक टन डिएपी र २५ हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता गरेको थियो। मुक्तिनाथले युरिया ल्याउन राखेको तीन लाख ९९ हजार डलर र डिएपीको तीन लाख ९७ हजार डलर धरौटी जफत गर्ने निर्णय भएको छ। सम्झौता तोडेपछि पुनः टेन्डर आह्वान गरेर रासायनिक मल ल्याउने कृषि सामग्रीले जनाएको छ। यो वर्ष पहिलोपटक नेपाली कम्पनीले रासायनिक मल ल्याउने टेन्डर पाएका थिए।

कृषि सामग्रीले शैलुङको तेस्रो ठेक्का रद्द गरेको हो। यस अघि दुईवटा ठेक्का रद्द गरिसकेको छ। यसअघि मल नल्याएपछि होनिको मल्टिपल कम्पनीलाई पनि कारबाही गरिएको थियो। टेन्डरबाट मल ल्याउन ढिलाइ भएपछि सरकारले पुस पहिलो साता बंगलादेशसँगबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता गरेको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएर मल ल्याउन लागिएको हो। अन्य प्रक्रियाबाट मल ल्याउँदा झन्झटिलो र ढिला हुने भएपछि फास्ट ट्रयाकबाट मल ल्याउन बंगलादेशसँग जिटुजी गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्