Logo

मोटरसाइकल चोरी तथा बिक्री वितरणमा सम्लग्न वर्कसप संचालकसहित ३ जना पक्राउ



भक्तपुर, २८ पुस । मोटरसाइकल चोरी तथा बिक्री वितरण गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङ गजुरीका २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वरका घर भई भक्तपुर सूर्यविनायक विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका प्रहरीले जनाएको छ ।

गत शुक्रबार सूर्यविनायक सिरुटारमा राजन सवार बा. ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हुँदा राजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा बा. ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो ।

उक्त नम्बरको मोटरसाइकलहरु महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंको वडा एरियाबाट चोरी गरेको भन्ने खुल्न आएकोले उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्