Logo

यी नेताको यसकारण मिल्यो लय



काठमाडौं, २८ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग गएरै चुनावी गतिविधि रोक्न पत्र दिए । सोमबार आयोग पुगेका उनले संसद बिघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले चुनावी गतिविधि रोक्न पत्र दिएका हुन् । यसै पनि प्रचण्ड र उनी पक्षधर समूहका अर्का नेता माधवकुमार नेपालले ओलीले चुनाव गराउने कुरा पत्याएका छैनन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीले चुनाव गराउनका लागि घोषणा नगरेको तर्क गरेका छन् । प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको कुराकानीमा उनले ओलीबाट चुनाव नहुने ठोकुवा गरे । उनले यसलाई ओलीको कुटिल चाल भने ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि ओलीले प्रतिनिधिसभा नै बिघटन गरेकाले त्यही प्रतिनिधिसभाको चुनाव नगराउने बताएका छन् । उनले लगातार अन्र्तक्रियाहरुमा ओलीको कदमको विरोध गर्दै देशलाई संकटमा धकेलिसकेको र गणतन्त्रको हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा चुनावको पक्षमा देखिइरहँदा पौडेल ओलीको अस्त्रमा नअलमलिन भन्दैछन् । उता डा. भट्टराई ओलीबाट चुनाव हुननसक्ने भनिरहँदा उनकै दलका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने चुनावको कुरा गर्दैछन् । महतोले त संविधान संशोधन गरी बहुल राष्ट्र सुनिश्चित गर्नमा जोड दिइरहेका छन् ।

प्रभावशाली नेताहरुमध्ये प्रचण्ड, माधव नेपाल, रामचन्द्र पौडेल र डा. बाबुराम भट्टराई मध्यावधि चुनावलाई ओलीको जालझेल देखिरहेका छन् । पौडेल र भट्टराईले त चुनावको कुरा गरेर आफ्नै दलका नेताहरुले राजनीतिक लाभ लिन खोजिरहेको देख्न थालेका छन् । यसरी यी नेताहरुको लय मिलेको छ । प्रचण्ड र माधव नेपाल ओलीलाई राजनीतिक रुपमा पछार्न लागिपरेकै छन् । पौडेल चुनावको कुरा गरेर देउवाले महाधिवेशन टार्न खोजेकोमा सचेत छन् । बाबुराम पनि चुनावको कुरा गरेर महन्थको समूहले राजनीतिक लाभ लिन खोजेको र आफूहरुलाई कमजोर बनाउन खोजेकोमा शतर्क भएका छन् ।



प्रतिक्रिया दिनुहोस्