Logo

कोशी कोरिडोरमा थप सात पुलको निर्माण सम्पन्न हुँदै



काठमाडौं, पुस २९। निर्माणाधीन कोशी कोरिडोरमा चालू आर्थिक वर्षभित्र थप सात पुलको निर्माण सम्पन्न हुने भएको छ । हाल ९ पुल निर्माणाधीन रहेकामा सातओटा सम्पन्न हुने देखिएको हो ।

राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण कोरिडोरमा कुल २२ पुल निर्माण गर्नुपर्ने कोशी कोरिडोर, खाँदबारी–किमाथांका सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा करीब तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालू आवभित्रै सात पुलको निर्माण सम्पन्न गर्न सकिन्छ ।

फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको श्रेष्ठले बताए । ‘कोरिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरू ससाना खोलामा पुल निर्माणाधीन छन् ।’

कोरिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । डिजाइन स्वीकृत भएमा चालू आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । त्यस ठाउँमा सामग्री नभएकाले डीपीआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । ‘निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ,’ उनले भने ।

१६२ किमी लम्बाइको उक्त कोरिडोरमा १४८ किमी ट्र्याक खुलिसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्