काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतप्रति असन्तुष्ट देखिएका छन् । पत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगेर फर्किएका प्रचण्डले भारतप्रति घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरेका हुन् ।
ओलीले बुधबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको निकटताबारे पनि प्रश्न उठाए । उनले ओलीमाथि भारतको इशारामा चलेको आरोप लगाए । ओलीले नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन पनि भारतको इशारामा गरेको प्रचण्डको आरोप छ ।
‘उहाँले अहिले पार्टी विभाजत गर्ने, संसद भंग गर्ने भारतले भनेर गरेको सारा जनताले बुझेका छन्, ’ प्रचण्डले ओलीलाई भारतको इशारामा चलेको आरोप लगाउँदै भने, ‘केपीजी यसलाई के भन्नुहुन्छ ?’
भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको प्रचण्डको आशय थियो । विगतमा प्रधानमन्त्री ओलीलाई भारतले हटाउन खोजेको भन्दा भारतले भनेकै भरमा हटाउनुहुँदै भनेर आफू हटाउने कदमको विपक्षमा उभिएको सुनाए ।
असारताका ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको छ भनेको स्मरण गराउँदै प्रचण्डले त्यतिबेला भारतले भनेकै भरमा हटाउनु हुँदैन भनेर नहटाएको बताएका हुन् । उनले भने, ‘असारको हाम्रो स्थायी समिटिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ । मेरा साथीहरुले नि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो । त्यतिबेला भारतले भन्दा हटाउने हो र भनेर हामीले हटाएनौं ।’
भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले बालुवाटारमा गरेको भेटघाटमाथि पनि प्रश्न उठाए । गुप्तचरसँग तीन घन्टा बालुवाटारभित्र एक्लै कुरा गरेर अपारदर्शी तरिका अपनाएको बताए । प्रचण्डले एक दशकपछि भारतप्रति खुलेरै असन्तुष्टि व्यक्त गरेका हुन् । भारत भ्रमणबाट फर्किएको एक हप्तापछि प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो ।
पछिल्लो समय प्रचण्ड भारतप्रति असन्तुष्ट छन् । ओलीलाई भारतले साथ दिएको उनको बुझाई रहेको देखिन्छ । ओलीले पछिल्लो समय भारतसँग निकटता बढाइरहेका छन् । भारतबाट उच्च पदस्थ अधिकारीहरुको विगत तीन महिनाभित्र भ्रमण हुँदै आएको छ । रअ प्रमुख सामन्तकुमार गोयल, भारतका सेनापति मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका छन् ।
नेकपाको निम्तोमा नेपाल भ्रमण गरेका चौथाइवाले प्रचण्ड र माधवकुमार नेपालसँग नभेटी फर्किएका थिए । यसलाई प्रचण्डले गम्भीरताका साथ लिएको बुझिएको छ ।-फाइल तस्बिर