ऋषि धमला, नयाँ दिल्ली । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै ताजमान सिंह होटलमा पुगेका छन् ।
विमानस्थलमा परराष्ट्रमन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयका अधिकारीका अलावा नेपाल र भारतका राजदूतहरुले स्वागत गरेका थिए । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा दुवै विमानस्थल पुगेका थिए ।
परराष्ट्रमन्त्रीको भ्रमण दलमा परराष्ट्रसचिव भरतराज पौडेल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत अधिकारीहरु सहभागी छन् ।
भारत भ्रमणका क्रममा ज्ञवालीले समकक्षी एस एन जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउने तय भएको छ ।
भारत भ्रमणका क्रममा नेपालले व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय उठाउने परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । भ्रमणका क्रममा कोभिड १९ को खोपबारे कुराकानी हुने बुझिएको छ ।