Logo

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्



काठमाडौं, माघ २ । कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।

रोजगारीका लागि कुवेत पठाउने आश्वासन दिए पनि चौधरीको उद्देश्य दिल्लीमै ती महिलालाई बेचबिखन गर्ने रहेको खुलेपछि सहयोगी संस्थाको पहलमा उनीहरूको उद्धार गरिएको थियो। उद्धार गरेर काठमाडौं ल्याइएपछि ती महिलाले चौधरीविरुद्ध २०७२ माघ २९ मा प्रहरीमा निवेदन दिएका थिए।

सोही निवेदनको आधारमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले चौधरीलाई काठमाडौंबाट पक्राउ गरेको हो। ‘निकै मेहनतका साथ अभियुक्त पक्रन सफल भए पनि जाहेरवालालाई सम्पर्कमा ल्याउन सकेका छैनौं,’ ब्युरोका प्रहरी निरीक्षक सुवास केसीले भने, ‘दरखास्तमा उल्लेख गरिएका मोबाइलमा सम्पर्क हुन सक्दैन। घर ठेगानामा खोजी गर्न लगाउँदा भेटिँदैनन्।’

उजुरीकर्ता सम्पर्कमा नआएपछि प्रहरीलाई अभियुक्तविरुद्ध मुद्दा अघि बढाउन अन्योल भएको छ। अभियुक्तविरुद्ध मुद्दाको प्रक्रिया अघि बढाउँदा पीडितले सनाखत गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रहरी अधिकृतका अनुसार पीडितको बयान नलिई अघि बढाइएको मुद्दालाई अदालतले राम्रोसँग हेर्दैन। ‘पीडित सम्पर्कमा नआउँदा वर्षौंको मेहनतपछि फेला परेका आरोपीले उन्मुक्ति पाउने खतराले चिन्तित छौं,’ ती अधिकृतले भने।

दाङ, ढिकरपोखरी–५ का ४५ वर्षीय सविन साहविरुद्ध रोजगारीका लागि कुवेत र दुबई लैजाने बहानामा दिल्ली पुर्‍याएर महिलालाई शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोपमा १० जाहेरी परेका छन्।

२०७३ जेठ २८ देखि साउन २२ सम्म गुल्मी, झापा, खोटाङ र सुनसरी घर भएका ती महिलालाई शोषण गरेको आरोप साहमाथि छ। उद्धारपछि फर्केका ती महिलाले दिएको जाहेरीको आधारमा केही दिनअघि ब्युरोले साहलाई पक्राउ गरेको हो। अहिले साहविरुद्ध उजुरी दिने महिला सम्पर्कमा छैनन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot