Logo

ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन



काठमाडौं, माघ २ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे।

नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ। बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो।

दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए। ओली समूहले बालुवाटारमा र दाहाल–नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए। ओली समूहका सदस्यले नेपाल–दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन्। त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ।

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन्। ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीभित्र गहिरिएर छलफल भएको बताएका छन्। ‘मूलतः सरकारले निर्वाचन घोषणा गरिसकेकाले त्यसमा केन्द्रित हुने विषयमा छलफल भएको छ, काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यले पछिल्लो अवस्थाबारे धारणा राख्नुभयो,’ पौडेलले भने। देशभरबाट पार्टीको अवस्थाबारे जानकारी लिँदा बहुसंख्यक कार्यकर्ता आफूहरूतिर रहेको पाइएको पनि पौडेलले सुनाए। स्थायी कमिटी सदस्यको बिफ्रिङ सुनेपछि अध्यक्ष ओलीले सबै नेताहरूलाई ढुक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे। ओलीले सबै तहबाट निर्वाचनको वातावरण बनाउनुपर्ने बताउँदै हरेक निर्वाचन क्षेत्रमा निर्वाचनसम्बन्धी कार्यक्रम कार्ययोजना बनाउन सदस्यहरूलाई आग्रह गरे।

बैठकमा सुवास नेम्वाङ, केशव बडाल, महासचिव विष्णु पौडेललगायतले पार्टीको अवस्थाबारे धारणा राखे। नेम्वाङले चाहिँ सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे पनि धारणा राखेको स्रोतले बताएको छ। उनले अहिलेको मुद्दालाई पूर्ण इजलासमा लैजाने कि संवैधानिक इजलासमै बहस गर्ने भन्नेबारे टुंगो नभइसकेकाले मुद्दामा बहस सुरु नभएको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्