काठमाडौं, २ माघ । यो यस्तो चोरी हो जसले ठुलो दुर्घटना नै निम्त्याउन सक्थ्यो । तर, बेलैमा पत्ता लागेर ठुलो दुर्घटना टरेको छ । प्रज्वलनशील पद्धार्थ डिजेल आयात हुँदै आएको नेपाल-भारत पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले चोरी भइरहेको पत्ता लागेको हो ।
भारतको विहारस्थित सिवान नवीगंज खण्डको डुमरा गाउँ नजिकको पाइपलाइनमा प्वाल पारेर चोरी भइरहेको खुलेको हो । यो चोरी पत्ता लाग्दा इन्डियन आयल कर्पोरेशन लिमिटेडका अधिकारीहरुको नै होश उडेको नवभारत टाइम्सले लेखेको छ । पाइपलाइनमा चोरले फोडेर अर्को सानो पाइप जोडेको भेटिएको छ । यो योजनावद्ध तरिकाले गरिएको चोरी पत्ता लागेको छ । सानो पाइपमा ठाउँ ठाउँमा लक राखिएको देखिन्छ ।
खेतमा डिजेल बग्न थालेपछि पाइपलाइन फुटाएर डिजेल चोरी भइरहेको खुलेको हो । अहिलेसम्म हजारौं लिटर डिजेल चोरी भएको जनाइएको छ । नवभारत टाइम्सले विहारमा यस किसिमको चोरीको घटना पहिलो भएको जनाएको छ । यसबाट करोडौंको नोक्शान भएको अनुमान गरिएको छ ।
पाइपलाइन पटनाबाट सिवान हुँदै मोतीहारीको मार्गबाट बाराको अमलेखगञ्जसम्म बिछ्याइएको छ । यसबाट डिजेल आयात गरिन्छ । १० सेप्टेम्बर २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन उद्घाटन गरेका थिए । नवभारत टाइम्स