२ माघ: भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन बनाएको छ ।
पटक पटक जीवनदान पाएका मार्नस लाबुसानेको १०८ रनको मद्दतले अस्ट्रेलिया ठूलै स्कोरतर्फ अग्रसर भएको हो । अस्ट्रेलियाका अन्य खेलाडीहरुमा डेभिड वार्नरले १, मार्कस ह्यारिसले ५, स्टिभेन स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाएका थिए ।
क्यामरुन ग्रीन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये दुबै टिमले १–१ खेल जितेर बराबरीको स्थिति छ । एक खेल भने बराबरीमा समाप्त भएको थियो । बोर्डर–गावस्कर ट्रफी जित्न यो टेस्ट अस्ट्रेलियाले जित्नै पर्दछ ।
भारतका प्रमुख बलरहरु जसप्रित बुमराह र रविचन्द्रन आश्विन घाइते भएकाले दुई जना नयाँ खेलाडीले यस टेस्टमा मौका पाएका छन् । अर्का तिब्र गतिका भारतीय बलर नवदीप सैनी पनि चोटका कारण दोस्रो सत्रबाट मैदानमा देखिएका छैनन् ।
तुलनात्मक रुपमा कमजोर क्षेत्र रक्षण गरेको भारतले शतक प्रहार गरेका मार्नस लाबुसाने समेतका केही क्याच छोडेपछि भारतीय टीम निराश भएको थियो ।–एएफपी/Photo: Agency