Logo

भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग धराशायी हुँदै



वीरगञ्ज, माघ ३। छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदैगएको छ ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६र ७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० ओटा वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेशिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए ।

वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रुपियाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ ओटा यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड मूल्य बराबरको १ लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्