Logo

खाद्यान्नको मूल्य बढ्यो



वीरगञ्ज, माघ ४ । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो ।

भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महीनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए ।

नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए ।

केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको मसर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्नुअघि २५ किलो कतर्नी चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँसम्म रहेकोमा अहिले १ हजार ५५० सम्म पुगेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले जानकारी दिए ।

खानेतेलको मूल्यमा पनि उच्च वृद्धि भएको छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर ५० रुपैयाँसम्म बढेको ओसीबी फुडका सञ्चालकसमेत रहेको उद्योगी रूङ्गटाले जानकारी दिए । रूङ्गटाका अनुसार उद्योगले १० लिटरको १ हजार ४०० रुपैयाँमा बेच्ने भटमास तेलको मूल्य अहिले १ हजार ९०० रुपैयाँसम्म पुगेको छ ।

सूर्यमुखी तेल भटमासको तुलनामा प्रतिलिटर १० रुपैयाँ महँगो हुन्छ । तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ । कारखाना मूल्यभन्दा उपभोक्ता मूल्य २० प्रतिशतसम्म बढी हुने विक्रेता बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्