Logo

स्थानीय तहमा काँग्रेसको विरोध सभा



काठमाडौं, माघ ४ । प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेपाली काँग्रेसले शनिबार देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन र विरोध सभा गरेको छ । प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भएको आरोप लगाउँदै काँग्रेसले विरोध सभा आयोजना गरेको हो ।

काँग्रेसले शनिबार काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाहरूमा विरोध सभाको आयोजना गरेको छ । ती कार्यक्रमलाई काँग्रेसका केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्दै न्यायालयले सबैलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँको वसन्तपुरमा आयोजित कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने संवैधानिक व्यवस्था नै नभएको बताए। उनले प्रतिनिधि सभाको विघटन संविधानको भावना र मर्मविपरीत भएकोसमेत दाबी गरेका छन् ।

नेता सिंहले काँग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्न काँग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको चर्चा गरे । तत्कालीन राजा ज्ञानेन्द्रले शाही आयोगको गठन गर्दा पनि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेको स्मरण गर्दैै उनले न्यायालयले सबैलाई न्याय दिने विश्वास व्यक्त गरे । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्