पोखरा, माघ ४ । मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन्। मोटरबाटोको पहुँच विस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ। हप्तौ लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्। पदमार्गको दूरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुडेका कारण पदमार्ग क्षेत्र प्रदुषित पनि हुने गरेका छन्।
चल्तीका पदमार्गको पदयात्रा अवधि मोटरबाटोले छोट्याउन थालेपछि पदयात्रा व्यवसायीले नयाँ पदमार्ग पहिचान गर्न थालेका छन्। तत्काल मोटरबाटो विस्तारको सम्भावना नभएका रुटलाई पदयात्रा व्यवसायीले प्रवद्धर्न गरेर पदयात्री पठाउने योजना बनाएका छन्। कोरोना संक्रमणका कारण यो बेला विदेशी पदयात्री आउन नसके पनि महामारी सकिएपछि भित्रिएका पदयात्रीलाई नयाँ, आकर्षक र साहसिक ठानिएका ती पदमार्गमा पठाउने योजना व्यवसायीले बनाएका छन्। पूराना र चल्तीका पदलमार्ग मोटरबाटोले छोट्याएपछि बस्ती नै नभएको पदयात्रा रुटलाई व्यवसायीले पहिलो प्राथमिकता दिन थालेका छन्।
नयाँ पदमार्ग पहिचान गर्ने क्रममा पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय संघले हालै अन्नपूर्ण नर्थ बेसक्याम्प पदमार्गको प्रवद्र्धनात्मक पदयात्रा पूरा गरेको छ। मोटरबाटोको तत्काल पहुँच पुग्ने सम्भावना नभएको यो रुटमा आगामी दिनमा पर्यटक पठाउन सकिने सम्भाव्यता बुझ्नका लागि टानले प्रवद्र्धनात्मक पदयात्रा गरेको थियो। अन्नपूर्ण नर्थ बेसक्याम्पको यो पदमार्गसँगै अरू नयाँ गन्तव्यको पहिचान गर्ने तयारी पनि टानको छ। कोरोना कहर सकिएपछि नेपाल भित्रिएका विदेशी साहसिक पदयात्रीलाई नयाँ र रोमाञ्चक ती रुटमा पदयात्राका लागि पठाउने योजना व्यवसायीको छ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल भन्छन्, ‘पदयात्राका लागि कहलिएका रुट नै नासिँदै गएका छन्। मोटरबाटो विस्तारले धेरै गन्तव्य हराउने अवस्था आयो। त्यही भएर नयाँ, आकर्षक र साहसिक पदमार्ग पहिचान गर्न चाहेका हौं। पहिचान गरिएका ती गन्तव्यको सम्भावना, चुनौतीबारे पनि अध्ययन गर्न थालिएको हो।’ अध्यक्ष पौडेलका अनुसार नेपालको पदयात्रा व्यवसाय क्याम्पिङबाट सुरु भएकाले अब पहिचान हुने रुट पनि क्याम्पिङका लागि उपयुक्त हुनेगरी पहिचान गरिनेछ।नागरिक दैनिकबाट